बागमती र सुदूर पश्चिमका प्रदेश प्रमुखहरूको शिष्टाचार भेट
मकवानपुर / बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ ।
आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
सुदूरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा सङ्घीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि वहाँले १७ साउनमा राष्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो । लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुग्नुभएको थियो ।
प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरूले समेत बधाइ दिएका थिए ।
सोही भेटमा प्रदेश प्रमुखहरू बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।