५ दिनअघि भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सिन्धुलीको फिक्कलमा भेटियो

पालिका डायरी
१ आश्विन २०८१, १३:००

गएको बिहीबारदेखि सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरो गाडीका चालकको शव फेला परेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा सोमबार बोलेरो चालकको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकैबाट बिहीबार भोटेकोसी नदीमा बा २० च २१८५ नम्बरको बोलेरो खसेको थियो।  दुर्घटनामा ज्यान गुमाउने बाह्रबिसे नगरपालिका–९ कि ३५ वर्षीया सुन्तली तामाङको शव शनिबारै भेटिएको थियो।

‘बोलेरो चालक भोटेकोसी गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव पनि फेला परेको छ,’ थापाले भने, ‘मृतकका छोराले शवको सनाखत गरेका छन्। गएराति नै शव परीक्षणको लागि धुलिखेल अस्पताल लगिएको छ।’

प्रतिक्रिया