भन्सार छलीका १ करोड बढीको सामान सहित २ भारतीय पक्राउ

पालिका डायरी
३ आश्विन २०८१, २०:०३

हेटौंडा / भन्सार छली ल्याएको एक करोड ३५ लाख रुपैयाँबराबरको लत्ताकपडा तथा सवारीसाधन सहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ छ । सुनसरीबाट हेटौंडा हुँदै काठमाडौंका लागि छुटेको बिआर ५ जिडी १३४३ नम्बरको भारतीय ट्रकलाई बुधबार बिशेष सूचनाको आधारमा समातेको हो ।
हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा रोकी जाँच गर्दा उक्त परिमाणको भन्सार छली ल्याएको अवैध लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ट्रकसँगै उक्त ट्रकका चालक भारतको बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक थाना बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मियाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए  ।
उनका अनुसार उक्त कपडा आलु लोड भएको ट्रकमा लुकाइछिपाइ ल्याएका थिए । प्रतिबोरा ५० किलोका दरले तीन सय ४५ बोरा आलुको भन्सार बिल काटिएको भए पनि ट्रकमा जम्मा दुई सय ६४ बोरा आलु राखी सोको भित्री भागमा ७४ वटा बोरामा विभिन्न किसिमका तयारी कुर्ता, रोलसहितको सर्ट एवं पाइन्टका कपडाहरू ल्याएको पाइएको प्रहरी प्रमुख रिजालले बताए ।

उल्लेखित अवैध भन्सार छली ल्याइएका सामानको अन्दाजी मूल्य एक करोड ३५ लाखबराबरको सामग्रीहरू बरामद गरी ट्रक र ट्रकका चालक तथा सहचालकलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी प्रमुख रिजालले बताए  ।

प्रतिक्रिया
460236877_495415366649624_5332324657032396520_n