कैलाश गाउँपालिकामा घुम्ती शिविरमार्फत वडा-वडामा योजना सम्झौता सुरु

पालिका डायरी
२५ मंसिर २०८१, २०:३६

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयले वडा-वडामै गएर योजना सम्झौता गरिरहेको छ।

पालिकाको आर्थिक वर्ष २०८१/८२ को बिनियोजित बजेटको पहिलो चरणको कार्यादेश आएका सबै योजनाहरूको सम्झौता प्रत्येक वडामा पुगेर घुम्ती शिविर संचालन गरेर गरिरहेको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताए । भौगोलिक विकटता र वडाबाट पालिकाको केन्द्र सम्म आउन टाढा पर्ने हुनाले समयमै योजना सम्पन्न गर्ने उद्देश्यले उपभोक्ता समितिलाई कार्य सम्पादनमा सहज गराउन गाउँमै आएर योजना सम्झौता गरिएको हो।

“जनताले हेर्दा देखिने र छुँदा भेटिने सरकार भनेको यही हो,” मोक्तानले भने। “स्थानीय सरकारको जिम्मेवारी पूरा गर्दै हामीले उपभोक्ता समितिमा रहेकाहरूको समस्यालाई बुझ्ने  प्रयास गरिरहेका छौं।”  वडाबाट पालिका सम्म आउन टाढा र सार्वजनिक यातायात नहुँदा त्यही समस्यालाई मध्यनजर गर्दै पालिकाले वडा-वडामा घुम्ती शिविर संचालन गरेर योजना सम्झौता गरिरहेको छ।

घुम्ती शिविरमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सचिव, इन्जिनियर लगायत सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया
FB_IMG_1733841796469