नेवारपानीबट १० किलो गाँजा सहित दुई जना पक्राउ

हेटौंडा / प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
हिजो (आइतबार) इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नेवारपानीस्थित चेकजाँचको क्रममा १० किलो ७०० ग्राम लागूऔषध गाँजा बरामद गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चितवनबाट हेटौंडातर्फ गइरहेको ना ७ ख ४५७३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार मकवानपुर मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने ३० वर्षीय अनिल तामाङ र सोही स्थानका २४ वर्षीय अशोक बल लाई शंका लागेर खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट १० किलो ७०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई लागूऔषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
