एमसीसीको विपक्षमा मतदान गर्न सांसदलाई विप्लव समूहको पत्र
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदहरुलाई पत्र पठाएको छ ।
एमसीसी राष्ट्रघाती रहेकाले संसदमा पेश भएको अवस्थामा सम्झौताको विपक्षमा भोट गर्न आग्रह गर्दै रुपन्देहीका ७ जना सांसदलाई पत्र बुझाएको हो ।
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाएको युवा संघका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बताए ।
‘एमसीसीले देशलाई राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्नेछ । यसबाट नेपाली र नेपालले ठूलो जनधनको क्षति बेहोर्नु पर्ने अनिवार्य छ । यस्तो प्रकारको क्षति हुनबाट देशलाई बचाउन तपाईंको महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ’ पत्रमा भनिएको छ ।
युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरुलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा भोट गर्न पत्र बुझाइएको अध्यक्ष जंगलीले बताए ।