देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु

पालिका डायरी
२८ चैत्र २०७८, १४:४३
accident

महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो महोत्तरीको महोत्तरी गाउँपालिका-६ गोरिगामास्थित सडकमा प्र.२-०२(००१ त ००६४ नम्बरको सेफ्टी ट्याङ्की जडान गरेको टयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकडारा गाउँपालिका-५ बहेरा बस्ने १८ वर्षीय ट्याक्टर चालक सरोज डोमको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका टयाक्टरका सचालक सोही ठाउँ बस्ने ३० वर्षीय सत्रुधन महतोको उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।

बाराको पचरौता नगरपालिका-८ लंगडाचोक डोर पुलस्थित सडकमा प्रदेश नम्बर २-०३-०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार रौतहट ईशनाथ नागरपालिका-२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवीको आइतबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै प्यूठानको प्यूठान नगरपालिका-४ बिजुवारस्थित सडकमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बिकाश कार्कीको १५ महिनाको छोरा युनिक कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी रुकुम (पश्चिम)को आठबिकोट नगरपालिका-४ तिल भन्ने स्थानमा भे.२ त ५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय मोति प्रसाद खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका-२ रामचोकस्थित सडकमा आइतबार राति ना.६ ख ६४५५ नम्बरको ट्रकले बा.१५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २९ वर्षीय संयम बजगाईँको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-११ वीपी चोकस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका-११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना ईद्रिसी, अस्लाम अन्सारीको ५ वर्षीय छोरा अली अन्सारी र अजिम ईद्रिसीको ५ वर्षीय छोरा कलिम ईद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका-७ नागडाँडास्थित सडकमा रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्याक्टरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१६ बयरडाँडा बस्ने २२ वर्षीय निसान्त चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
accident