हेडसर रामप्रसाद शाह : विकटका डाक्टर, असहायका सहारा
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङका ८४ वर्षीय बिदुर मल्ल ठकुरी दमका रोगी हुन्। चिसोको मौसममा उनलाई श्वास फेर्न निकै कठिन हुने गरेको छ। केही दिनअघि मात्रै दमले चापेर सिकिस्त भएका ठकुरी अहिले सञ्चो छन्।
दम बढ्यो, श्वास फेर्न गाह्रो भयो भनेर उनका परिवारले ‘ललन सर’लाई फोन लगाए। अनि ३ घण्टाको बाटो हातमा अक्सिजन लगाउने र बाफ लगाउने मेसिन बोकेर बिरामीकै घर पुगे रामप्रसाद हेडसर। दमले चापेर निसास्सिरहेका ठकुरीले जब सन्चो महशुस गरे, तब हेडसरले उनलाई अक्सिजन लगाएर उपचार गरिदिए। अहिले ठकुरीले हेडसरलाई आफ्नो भगवान् सम्झिने गरेका छन्।
‘उहाँ समयमै नआउनु भएको भए मेरो बुवा आज यो संसारमा रहनुहुन्थेन होला। हामीले फोन गरेको डेढ घण्टा जतिमा घरमै आइपुग्नु भयो। बर्खाको समयमा त सबै बाटो हिडेर आउनुपर्ने भएर ३ घण्टा भन्दा धेरै लाग्छ’ ठकुरीका छोरा राजन मल्ल ठकुरीले भने, ‘अहिले मोटरसाइकल जाने भएर चाँडै आइपुग्नु भयो। आउने बित्तिकै बुवाको उपचार गरिदिनुभएपछि अहिले हाम्रो बुवा एकदमै ठिक हुनुहुन्छ।’
यस्तै, सोही गाउँपालिका ४ भिमल्टारका २४ वर्षीय सुदिप कोइराला आफ्नो गुप्तांगको दुखाई सहन नसकेर अताल्लिँदै बुधबार रामश्यामा क्लिनिकमा आइपुगे। उनलाई हाइड्रोसिल भएको रहेछ। रामप्रसाद सरले कोइरालालाई उपचार गरिदिएपछि उनको दुखाई निकै कम भएको अनुभव सुनाउँछन्।
मकवानपुरको राक्सिराङ गाउँपालिका अति नै दुर्गम क्षेत्र हो। जसलाई मकवानपुरको कर्णाली भनेर समेत उपनाम दिने गरिएको छ।
राक्सिराङ –४ मा रहेको भीमसेन प्राथमिक विद्यालयका प्राध्यापक रामप्रसाद शाह विद्यालयका हेडसर मात्रै होइनन्, उनी असल स्वास्थ्यकर्मी समेत हुन्। राक्सिराङका मानिसहरु बिरामी हुँदा एउटै सहारा बनेका छन् शाह।
विद्यालय छुटेपटि बिरामीको सेवा
२०३६ सालमा जन्मिएका शाहको पुर्ख्याैली घर रौतहट हो। तर उनी जन्मनु भन्दा एक वर्षअघि अर्थात् २०३५ सालदेखि शाहका बुवा–आमा यहाँ बस्दै आएका थिए। आफ्नो अध्ययन पूरा गर्नको निम्ति विभिन्न ठाउँलाई गन्तव्य बनाएका उनले विकट भएपनि राक्सिराङ छोड्न सकेनन्।
शिक्षकको भूमिका निर्वाह गर्दै राक्सिराङमा बसोवास गर्दै आएका उनी विकटका बालबालिका र बिरामीहरुकै सेवामा रमाउने गरेका छन्। बिहान उठेर निर्त्य कर्म, त्यसपछि खाना खाएर विद्यालयमा पुग्ने उनी ४ बजे विद्यालय बन्द हुने बित्तिकै बिरामीहरुको सेवामा लाग्ने गरेका छन्।
‘शिक्षक पनि हुँ। स्वास्थ्यमर्की पनि हुँ। पहिला/पहिला त शिक्षकको भूमिका मात्रै निर्वाह गर्ने गरेको थिएँ। विकटका मानिसहरु हेटौंडा–काठमाडौं उपचारका लागि पुग्न सक्ने अवस्था देखिन’ शाहले भने।
उनले थपे, ‘वर्खाको समयमा गाडी आवात जावत अहिले पनि हुँदैन। कतिको त उपचार नपाएरै ज्यान गएको मेरा आँखाले देखेपछि अहिले म घरघरमै गएर पनि उपचार गर्ने गरेको छु। मेरो सेवाले धेरै बिरामीको ज्यान बचेका छन्।’
दिउँसो विद्यार्थीको अध्यापनमा व्यस्त रहने शाह बिहान र बेलुकाको समय बिरामीको हेरचारमा नै खर्चिने गरेका छन्। स्रोत साधनले भ्याएसम्मको उपचार गाउँमै हुने भएपछि साना तिना रोग र दुखाई कम गर्न घण्टौं लगाएर सदरमुकाम हेटौंडासम्म आउनुपर्ने स्थानीयको समस्या पनि हल भएको छ।
‘उपचार नपाएर मर्न नपरोस्’
विकटताका कारण तत्कालिन उपचार नपाएर ज्यान गुमाउनेको संख्या व्यापक रहने यहाँ हाल त्यस्तो समस्या छैन। वृद्धवृद्धा अवस्थाका मानिसहरुलाई परिवारको सदस्यले सवारीका अभावका कारण डोकोमा बोकेर शाहको क्लिनिकसम्म ल्याउने गरेका छन्।
शाहले उपचार गरिदिएपछि आफ्नै घरको कोठामा बिरामीलाई आरम गर्नसमेत दिने गरेका छन्। त्यति मात्रै होइन घण्टौं लगाएर आउजाउ गर्नुपर्ने भएकोले आफ्नो भान्सामा जे पाकेको छ, त्यो बिरामी र उनका आफन्तसम्मलाई बाँडेर खान्छन्।
‘गाउँमा पसल छैनन्। बिरामी अनुसारको तागतिलो खानेकुराहरु पनि खानुपर्छ, त्यसैले जस्तो छ त्यस्तै पस्केर खाने गरेका छौं,’ मुसुक्क हाँस्दै उनले भने।
उपचार नपाएर कसैले पनि मर्न नपरोस् भन्ने उनको चाहना रहेको बताउँछन्।
उपचारसँगै जनचेतना पनि
शिक्षण र स्वास्थ्यकर्मी दुवै पेशा गरेर पैसा कमाउन खोजेको भन्ने आरोपहरु पनि नखेपेको होइन। तर पछि विस्तारै समय बित्दै गएपछि उनको त्याग देखेर स्थानीयहरु चकित परे।
औषधिको मात्रै शुल्क लिएर उपचार गर्दै आएका उनलाई बिरामीको घरसम्म पुग्न लाग्ने खर्चको कहिल्यै हिसाब किताब नै गर्दैनन्। बिरामीको घरसम्म पुग्नै सास्ती हुने गरे पनि उनको ध्यान सधैं विकटका मानिसलाई उपचार दिनुमा छ।
अधिकांश चेपाङ समुदायको बसोबास रहेको यहाँका मानिसहरु अशिक्षित छन्। अशिक्षाकै कारण रोगको उपचारसम्म गराउन डराउने मानिसहरुमा रोगको बारेमा जनचेतना फैलाएर उपचारको दायरामा धेरै स्थानीयलाई ल्याउन सकिएको शाहको अनुभव छ।
‘सरले कुन बिरामी हुँदा के खाने, कस्ता खानेकुरा खान हुँदैन, कसरी सावधानी अपनाउन सकिन्छ भन्ने कुराहरु सिकाउनुहुन्छ। यसले हामीलाई छिटो रोगबाट निको हुन पनि सजिलो भैरहेको छ,’ स्थानीय ५७ वर्षीया राममाया चेपाङले भनिन्।
अन्त जान परे व्यवस्था
गाउँको सानो क्लिनिकमा सबै सेवा सुविधा भने छैनन्। समान्य बिरामीहरुको लागि उपचार गरिएता पनि सबै रोगहरुको औषधि भने उपलब्ध छैन। जब स्थानीयहरु जटिल बिरामी परेर आफूलाई गुहारे भने बिरामीलाई उनैले प्रबन्ध मिलाएर कि हेटौंडा, कि भरतपुर पठाइदिने गरेका छन्।
उनको यो स्वास्थ्य सेवाले राक्सिराङको ४ नम्बर वडाको भिमल्टार मात्रै होइन, खैराङ, गोर्केटे, कोखाली, काँकडा लगाएतका स्थानीयहरुसमेत लाभान्वित भएका छन्। पालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रशंसायोग्य काम गर्दै आएका उनलाई सेवा नै धर्म हो भन्ने लाग्दछ।
गाउँपालिकाले स्थापना गरेको स्वास्थ्यचौकी पुग्न उनको क्लिनिकबाट ३ घण्टा भन्दा बढी समय लाग्छ। आउजाउको समस्याको कारण बिरामीहरु स्वास्थ्य चौकीसम्म पुगेर उपचार गराउने अवस्था छैन।
‘यहाँका स्थानीयहरु स्वास्थ्य उपचारका लागि मेरै भरमा बाँचिरहेका छन् जस्तो लाग्छ’ शाहले भने, ‘त्यसैले लामो समय यो ठाउँ छोडेर अन्त समेत जान मन लाग्दैन। म नहुँदा कसैले उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भन्ने लागिरहन्छ।’
नेपाल खबरबाट